नेपाली वहुसाँस्कृतिक कार्यक्रम सम्पन्न
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
प्रबासमा नेपाली कला सँस्कृति तथा साहित्यलाई जीवन्त राख्ने बर्षेनी बिबिध कार्यक्रमहरु आयोजना गर्दै आइरहेको नेपाली कला सँस्कृति तथा साहित्य प्रतिष्ठान अष्ट्रेलियाले यस पटक एक भिन्न र बिशेष कार्यक्रम ‘नेपाली वहुसाँस्कृतिक कार्यक्रम’ गत मार्च १६का दिन सम्पन्न गरेको छ । ‘नेपाली वहुसाँस्कृति कार्यक्रम’ नाम दिइएको उक्त कार्यक्रममा नाम अनुसार नै नेपालका बिभिन्न जात-जाती भाषा-भाषीका रहन सहन, संस्कृति, भाषालाई गायन नृत्य र नाटक जस्ता बिभिन्न विधाबाट अष्ट्रेलियाको बहुसांस्कृतिक समुदाय र उपस्थिति नेपालीहरु बीच प्रस्तुत गरिएको थियो । त्यस्तै सोहि मंच मै अस्ट्रेलियाको बहुसांस्कृतिक समुदायमा रहेका अन्य देश र भाषाको प्रतिनिधित्व हुने बिबिध प्रस्तुतिहरु पनि कार्यक्रमको आकर्षण थियो।
स्थानीय कम्बरल्यान्ड काउन्सिलको आर्थिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा कम्बरल्यान्ड काउन्सिलका मेयर ग्रेग कुमिन्स र यस काउन्सिलमा प्रतिनिधत्व गर्ने ठुलो संख्यामा काउन्सिलरहरू को उपस्थिति थियो । त्यसै गरि अतिथिको रुपमा कार्यक्रममा स्थानीय लेबर पार्टीकी फेडरल सांसद जुलिय ओवन र राज्य सांसद जुलिया फीनको समेत उपस्थिति थियो । एनएसडब्लुका महाबाणिज्यदुत दिपक खडका, एनआरएनए लगायत यहाँका नेपाली समुदायमा सक्रिय बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, यस भेगमा बसोबास गर्ने ठुलो संख्याका नेपालीहरु र नेपाललाई माया गर्ने बिदेशीहरुको पनि कार्यक्रममा उपस्थिति थियो।
नेपालको कुमारी नाँच, गणेश स्तुति, देउडा नृत्य, थारू नाँच, किराँत, लिम्बू, राई, तामाङ, मगर नेवार लगायतका सांस्कृतिक प्रस्तुतीहरू, यतै जन्मे, हुर्केका दोश्रो पुस्ताका बाबुनानीहरु बाट संदेश मुलक लघु नाटक र अस्ट्रेलियाको परम्परागत गीत, बेली डान्स तथा चिनियाँ नृत्य लागाएतलाई एउटै मंचमा उतारिएको उक्त कार्यक्रम नाम अनुसार नै वहुसाँस्कृतिको प्रतिबिम्ब बनेको थियो । नेपालहरुको बाक्लो उपस्थिति रहेको सिड्नीको ग्र्यन्भिलमा सम्पन्न उक्त कार्यक्रममा उपस्थिति सबैले संस्थाले नेपाली कला र साहित्यलाई प्रबासमा जिबन्त राख्न खेलेको भूमिकाको प्रसंसा गर्दै यस्ता कार्यक्रमहरु ले भविष्यमा पनि निरन्तरता पावोस भनि शुभकामना दिएका थिए ।
नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाकी अध्यक्ष सुजाता केसीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अध्यक्ष केसीले उपस्थित सबैलाई धन्यवाद दिँदै अस्ट्रेलिया जस्तो बहुसंस्कृति समाजमा हाम्रा कला र संस्कृतिको बारेमा यहाँको समुदाय र हाम्रै दोश्रो पुस्ता सम्म पुराउन यो बहुसांस्कृतिक कार्यक्रमले ठुलो भूमिका खेल्ने विश्वास लिएको बताईन । त्यसै गरि कार्यक्रमकी संयोजक जानकी पौडेलले यस्ता खालका कार्यक्रमहरू ले समुदायका सदस्यहरु बीच अत्मित्यता स्थापना गर्दै बहुसांस्कृतिक समाजमा सबै सुगन्ध छर्दै फूल्न सक्ने बताईन। संचारकर्मी दिक्पाल पगेनीले संचालन गरेको सो कार्यक्रममा संस्थाकी महासचिव दिलु केसी र सचिव संगिता बस्नेत, कोषाध्यक्ष सीमा रोसी, सदस्य सम्झना पौडेल, राजेश्वर घिमिरे लगायतका संस्थाका पदाधिकारीहरु ले कार्यक्रम संचालन देखि समापन सम्म सक्रिय सहभागिता जनाएका थिए।
(फोटो – Candid Photography)