विद्यालय पुनर्निर्माणका लागि सिड्नीमा फन्ड राइज डिनर सम्पन्न 

करिब १२ हजार डलर बचत भएको प्रारम्भिक अनुमान
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

अष्ट्रेलियामा रहेका नेपाली संघ संस्थाहरु मध्येको पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसिएसन (एनएए) ले ४ बर्ष अगाडीको प्रलयकारी भुकम्पबाट क्षति पुगेको नुवाकोट तादी गाउँपालीका -१  मा रहेको गंगादेवी प्राथमिक विद्यालय पुनर्निर्माणमा पुराउदै आएको सहयोगमा थप गर्नु पर्ने भएकोले हालै एक फन्ड राइज डिनर सम्पन्न गरेको छ ।
सोफी कोट्सिस (Member of the New South Wales Legislative Council & Shadow minister of Multiculturalism) र मार्क कोउरे (Assistant Speaker of NSW Legislative Assembly) अतिथि बक्ताको रुपमा उपस्थित उक्त कार्यक्रममा नेपाली समुदाय, नेपाललाई माया गर्ने अन्य समुदायका सदस्यहरु र ब्यापारिक समुदायको ठुलो संख्यामा उपस्थिति थियो।
नेपाल र अष्ट्रेलियाको राष्ट्रिय गीतबाट सुरु भएको उक्त कार्यक्रममा अतिथि बक्ताद्वयले नेपाली समुदायको प्रसंसा गर्दै अष्ट्रेलियाको बहुसांस्कृतिक समुदायमा नेपाली समुदाय एकदमै उदाहरणीय समुदाय रहेको विचार व्यक्त गरे । नेपाली समुदाय संग सधै आत्यमीय सम्बन्ध रहदै आएको र आजको यो परोपकारी कार्यक्रममा सहभागिता जनाउन पाउदा पनि अत्यन्त खुसि लागेको बताए । कार्यक्रममा पुनर्निर्माणमा हुदै गरेको गंगादेवी प्राथमिक विद्यालय सम्बन्धि डकुमेन्ट्री प्रस्तुत गरिएको थियो भने  नेपालमा परोपकारी काम गर्दै आइरहेकी  Emma Taylor ले आफ्नो मोटिभेसनल स्पिच सहित आफ्नो परोपकारी कार्यको श्रब्य दृश्य समेत प्रस्तुत गरेकी थिइन्।

औपचारिक कार्यक्रमको समापन गर्दै  नेप्लिज अस्ट्रेलियन एसोसिएसनका अध्यक्ष डा. मधु पुडासैनी यस परोपकारी अभियानका लागि यो फन्ड राइज डिनरको कार्यक्रम सुरु गर्ने सोच आएको दिन देखि आज सम्म दिन रात खटेर सहयोग पुराउने सबै संस्था भित्रका सद्स्य/स्वयम्सेवक र बाहिरबाट सहयोग पुराउनु हुने ब्यपारिक समुदाय देखि सहयोगी सबैलाई बिशेष धन्यवाद दिनु भएको थियो । त्यसै गरि एनएएको अतिथि बनेर कार्यक्रममा सहभागिता जनाउनु भएका अतिथिद्वय मार्क कोउरे र सोफी कोट्सिसलाई धन्यबाद दिदै नेपाली समुदायका बिबिध समस्याहरुमा सधै सहयोगी बन्दै आउनु भएकोमा धन्बाद व्यक्त गर्नु भएको थियो । समापन मन्तब्यमा अध्यक्ष डा. पुडासैनीले २०१५ मा नेपालमा गएको प्रलयकारी भुकम्पले गरेको क्षति पछि धेरै तर्फबाट सहयोगी हातहरु बढाउदै धेरैले धेरै थरि सहयोग गरि रहेको परिप्रेक्ष्यमा एनएएले पनि अति आबश्यक परेको ठाउँमा सहयोग गर्ने प्रतिबद्दता सहित  लायन्स क्लव अफ काठमाण्डौ सुनखरीले प्रस्तुत गरेको गंगादेवी प्राथमिक विद्यालय पुनर्निर्माणको कार्यमा हात बढाएको बताउनु भयो । यस अगाडी किड्स एक्टिभिटिज मार्फत  फण्ड राइज गरेको संस्थाले यस पटक भने पुनर्निर्माणको सहयोगार्थ यो कार्यक्रमको आयोजना गरेको र यो पुण्य कार्यको हिस्स्सा बन्ने र सहोयोग गर्ने सबै सहयोगी मनहरु लाई धन्यवाद दिदै यस कार्यक्रमबाट अनुमानित  १२ हजार डलर बचत भएको र उक्त रकम सबै नै बिद्यालय पुनर्निर्माणका लागि नेपाल पठाइने बताउनु भयो।  उँहाले उक्त बिद्यालय पुनर्निर्माण कुनै पनि प्रशासनिक खर्च बिना नै गर्न लागिएको पनि जानकारी दिनु भयो ।
मन्तब्य कै क्रममा डा पुडासैनीले ४३ बर्षको इतिहास बोकेको नेप्लिज अस्ट्रेलियन एसोसिएसनले सधै नै अष्ट्रेलियन सरकारका बिभिन्न निकाय सम्म नेपाली समुदायको आवाज पुराउन सधै प्रयासरत रहेको बताउदै यसका लागि संघीय सरकार ( federal government ) सम्म संस्था धेरै बर्ष समुदायको अवाज पुराउन सक्रिय रहेको परिप्रेक्ष्यमा लामो समयको प्रयास पश्चात संस्थाललाई अष्ट्रेलियन सरकारबाट नेपाली सामुदायिक भवनका लागि एक मिलियन अष्ट्रेलियन डलर उपलब्ध गराउने अष्ट्रेलियन सरकारको निर्णय गरेकोमा संस्थाले यसलाई ठुलो उपलब्धिको रुपमा लिएको बताउनु भयो।  यो खुशीको समयमा यस कार्यको लागि अष्ट्रेलियन सरकार संग निरन्तर यसको आबश्यकता औलाउन र आवश्यक कागजजात तयारी गर्न लागि परेको एनएएको टिम र बिशेष गरि बर्तमान महासचिब ऋषि आचार्य र सदस्य डा सन्तोष खनाललाई बिशेष धन्बाद दिन चाहेको पनि बताउनु भयो ।अबको दिनमा एनएएले यहाँ स्थित बिभिन्न नेपाली समुदायका संघ संस्थाहरु संग बिभिन्न चरणमा छलफल र सहकार्य गरि अष्ट्रेलियन सरकारबाट प्राप्त उक्त रकम परिकल्पना गरिएको नेपाली सामुदायि भवनलाई कहाँ कसरि अगाडी बढाउने भन्ने साझा खाका कोरी अगाडी बढ्ने पनि बताउनु भयो। 
स्वादिष्ट नेपाली स्वादको भोजन सहितको उक्त कार्यक्रममा नेपाली स्थानीय कलाकारहरुले बिबिध गित संगीत अनि नृत्यले उपस्थित सबैलाई मनोरंजन दिएका थिए ।  फन्ड राइज कै लागि बिभिन्न मनकारीहरु ले उपलब्ध गराउनु भएका हस्तकाल, मुर्ति र चित्रहरु को लिलाम बढाबढ गरिएको थियो ।  कार्यक्रमलाई दोश्रो पुस्ताका नानीहरु अरासी पुडासैनी र नीलम एरिले संचालन गर्नु भएको थियो ।

(photo: Guru production)