सिड्नीमा सोनाम ल्होछार मनाइयो 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
तामाङहरुको सांस्कृतिक एबं मौलिक पर्ब नयाँ बर्ष अर्थात सोनाम ल्होछार सिड्नीमा बिबिध कार्यक्रम सहित धुमधामका साथ मनाइएको छ । तामाङ सोसाइटी अफ एनएसडब्लु – सिड्नी परिवारले सदा झै यो बर्ष २८५६ औ सोनाम ल्होछार मुसा बर्ग अन्तर्गतको नयाँ बर्ष संस्कृतिक महत्व झल्कने र बिबिध मनोरन्जनात्मक कार्यक्रम सहित सम्पन्न गरेको छ।
गत २५ जनवरीमा हर्षभिल स्थित मराना अडिटरियममा सम्पन्न उक्त कार्यक्रममा तामाङ संस्कृति झल्किने भेषभुषा तथा स्थानीय कलाकार साथै नेपालबाट आएका अतिथि कलाकारहरु तामाङ फिल्मि जगतका सुपरटार कुमार मोक्तान, चर्चित सेलो गायिका निर्मला घिसिङ र चर्चित गायक तथा सङ्गितकार बिश्व दोङले सहभागीलाई मनोरन्जन दिएका थिए। एनएसडब्लुका महाबाणिज्यदुत दीपक खड्काको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रमम नेपाली दूतावास अष्ट्रेलियाका तृतीय सचिव यादव कोइराला र नेपाली आदिवासी जनजाति मन्च अष्ट्रेलिया (निन्फा) का अध्यक्ष अरुण तामाङ बिशेष अतिथि रहेका थिए । यसै गरि कार्यक्रममा नेपाली समुदायका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु र नेपाली समुदायको बाक्लो उपस्थिति थियो।
सोसाइटीका अध्यक्ष सुनदोर्जे तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा  बोल्दै महाबाणिज्यदुत खड्काले अष्ट्रेलियाको बहुसंस्कृतिक समुदायमा हाम्रा बिबिध कला संस्कृतिहरुको प्रत्यक्षदर्शी हुन पाउनु हामी सबैका लागि गर्बको कुरा रहेको र आफ्नो परिवार पनि चिनियाँ मूलको भएकाले घरमा नै पनि नयाँ वर्ष मनाइरहेको बताएका थिए । गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका उपाध्यक्ष तथा एनएसडब्लु राज्य परिषद् संयोजक देव गुरुङले अस्ट्रेलिया बहुसांस्कृतिक मुलुक भएकाले यहाँ हरेक जातजातिले यहाँ आफ्नो संस्कृतिलाई जीवन्त राख्न सक्ने बताए । राजदुताबासको प्रतिनिधित्व गर्दै नेपालमा २३ लाख भन्दा बढी जनसंख्याले मनाउने सोनाम ल्होछारको उपलक्ष्यमा शुभकामना दिदै यसरी सिड्नीमा मनानाउन पाउदा वास्तविक गाउँको स्मरण भएको यादव कोइरालाले बताए ।
निन्फाका अध्यक्ष अरुणकुमार तामाङले सोनाम ल्होछार तामाङ समुदायको मात्र नभएर संसारभरि रहेका सबैको पर्व भएको बताए । उनले अष्ट्रेलियामा पनि सोनाम ल्होछार मनाउने समुदायको संख्या प्रत्येक वर्ष ठूलो हुँदै गइरहेको भन्दै खुशी व्यक्त गरे । यसले अस्ट्रेलियामा नेपाली समुदाय बिच भाइचाराको सम्बन्ध अभिवृद्धि हुने उनले बताए । तर नेपाल सरकारले ६२/६३ को आन्दोलन पछि प्राप्त सांस्कृतिक अधिकारलाई वर्तमान ओली सरकारले खोसेर आदिवासी पर्बमा दिइने सरकारी विदा कटौतीको अविलम्ब  फिर्ता गरियोस् र वास्तविक धर्म निरपेक्षताको कदर गरियोस् भन्नेमा जोड दिए । संस्थाका सांस्कृतिक सचिव कमल तामाङले धन दौलत हराए कमाउन पनि सकिन्छ तर हाम्रो पहिचान हराएमाा हाम्रो जाति हराउँछ। डलरले कार किन्न सकिन्छ तर हाम्रो संस्कार किन्न सकिन्न। त्यसैले युवा पुस्ताको ठुलो जिम्मेवारी नै हाम्रो पहिचानलाई जोगाउनु हो उनले थपे । सोसाइटीका सचिव विशाल तामाङको स्वागत मन्तब्यबाट सुरु भएको उक्त कार्यक्रममा स्थानीय कलाकारहरु अमृता तामाङ, कन्चन तामाङ, रमिता तामाङ, रश्मी तामाङ, सुनिता वाइवा, रमिला तामाङ, सिर्जना लामा तथा प्रमिला बमजनले प्रस्तुति दिएका थिए र कार्यक्रमको अन्त्यमा उनीहरुलाई पुरस्कृति पनि  गरिएको थियो।