मगर समुदायले माघे संक्रान्ति मनाए

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

मगर संस्कृति र परम्पराको जगेर्ना साथै निरन्तरताको लागि अष्ट्रेलियामा गठन गरिएको मगर समाज अष्ट्रेलियाले बिगतका बर्षहरुमा जस्तै यसबर्ष पनि माघे सक्रान्ती मेला  भब्यताकासाथ सम्पन्न गरेको छ ।  निर्धारित जनवरी १८ को कार्यक्रम मौसमका कारणले २६ जनवरीका दिन सिड्नीको अर्लउड स्थित वेटलाम पार्कमा सम्पन्न मेलामा  सिड्निका नेपाली समुदायका सदस्यहरु लगायत मगर बन्धुहरु को बाक्लो उपस्थिति थियो ।बिधिबत पुजा सहित सुरु भएको उक्त कार्यक्रम निन्फाका अध्यक्ष अरुण तामांगको प्रमुख आतिथ्यतामा र  गैरआवासीय नेपाली संघ (एनआरएनए) उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य परिषद् संयोजक देव गुरुङ, एनआरएनए प्रबक्ता एबं पूर्व उपाध्यक्ष नन्द गुरुङ, गोरखा नेप्लिज कम्युनिटीका जीतमान लिम्बू, तमु समाजका दिनेश गुरुङ, नेपाली समुदायका अग्रज नारायण प्रधान लगायतका समुदायका अगुवाहरु को विशेष आतिथ्यतामा सम्पन्न  भएको थियो।समाजका अध्यक्ष अनिल थापा मगरले अघिल्लो हप्ता अन्तिम समयमा कार्यक्रम स्थगित गर्नु परेको भएता पनि उस्तै जोस जाँगर सहित समाजको निम्तालाई स्विकार गरेर उपस्थित सबै सहभागीलाई संस्थाको तर्फबाट स्वागत गरेका थिए। यसै गरि कार्यक्रम सफल बनाउन समाजको निम्तालाई स्वीकार गरेर नेपालबाट आउनु भएकी गायिका खिमा रोक्का मगर लगाएत लामो समयको मेहनत साथ कार्यक्रम सफल बनाउन लागि परेका सबै स्थानीय कलाकारहरु, संस्थाका सबै सदस्यहरु, स्वयम्सेवकहरु, प्रायोजक लगाएत सबैलाई स्वागत गर्दै धन्यबाद व्यक्त गरेका थिए।

  
प्रमुख अतिथि अरुण तामांगले सरकारी स्तरमा जनजाति आदिबासीलाई उचित पहिचान र सम्मान दिन नसकेको अवस्थामा समेत प्रबासमा रहेर आफ्नो बचेको समय आफ्नो जात/जाति, भाषा/भाषीको संस्कृति जोगाउन लागि परेका अन्य समुदाय जस्तै मगर समुदायका सबैलाई स्तरीय कार्यक्रम गरेकोमा धन्यबाद दिदै निरन्तरताको लागि शुभकामना दिएका थिए। समाजका सचिब सुदर्शन थापा मगरले प्रबासमा छरिएर रहेका मगर दाजु भाइ दिदि बैनीहरु बीच समाज चौतारीको रुपमा रहन पाएकोमा प्रसन्नता व्यक्त गर्दै समाज स्थापना भए संगै माघे सक्रान्ति हाम्रै गाउँ ठाउँ कै किसिमले खुल्ला ठाउँमा गर्दै आइरहेको र आज सम्म निरन्तरता दिइरहेको बताउदै सहभागी सबैलाई धन्यवाद व्यक्त गरे। यसै गरि अन्य अतिथिहरु देब गुरुङ्ग, नन्द गुरुङ्गले पनि सबैमा माघे सक्रान्तिको शुभकामना व्यक्त गर्दै नेपाली समुदाय भित्रका यी सांस्कृतिक बिबिधतालाई निरन्तर दिनु पर्ने बताएका थिए। कार्यक्रममा मगर संस्कृति झल्किने पोशाक, खानाको स्टलहरु र सांस्कृतिक प्रहसन र मित्रवत खेलकुद प्रतियोगिताहरु पनि राखिएको थियो । बिगतका बर्षहरुमा निक्कै लोकप्रिय बनेको दौडिएर राजा बन्ने प्रतियोगितामा यस पटक नन्द गुरुङ्गले जितेका थिए भने छेलो हान्ने प्रतियोगितामा केशब पुन प्रथम भएका थिए।दुर्गा थापा, सरिस्ता गर्बुजाले सञ्चालन गरेको उक्त कार्यक्रमको सांस्कृतिक कार्यक्रम नेपाली पञ्चे बाजाको धुनबाट सुरु भएको थियो । कार्यक्रमकी मुख्य आकर्षक नेपालकी चर्चित गायिका खिमा रोक्का मगरको आफ्ना बिबिध लोक भाकाका प्रस्तुतिहरु ले एकै छिन् भए पनि वेटलाम पार्कलाई नै नेपालमय बनाएकी थिइन् । वान्स मोर र गितको सुरु देखि अन्त्य सम्म नाच्दै उपस्थित सबैले  गायिका रोक्का मगरलाई पनि साथ दिइरहेका थिए।

(Photo: londonnepalnews)