मुस्कानलाई अमेरिकाद्वारा साहसी महिलाको सम्मान

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौँ- नेपालकी मुस्कान खातुनलाई अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय साहसी महिला सम्मानबाट सम्मानित गरेको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजित भर्चुअल कार्यक्रममा अमेरिकी प्रथम महिला जील बाइडेनले सो सम्मान प्रदान गर्नुभएको हो ।

त्यस क्रममा बाइडेनले यसपालिको सम्मान पाउनेहरूका फरक फरक कथा रहेको बताउनुभयो ।

तर सबै फरक पृष्ठभूमिका भए पनि भयरहित भएर काम अगाडि बढेका परीजस्तै रहेको उहाँले सुनाउनुभयो ।

नेपालबाट मुस्कान र नेपालका प्रधानमन्त्री तथा अन्य उच्च नेतृत्वले भिडियो सन्देशमार्फत सम्मानका विषयमा आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो ।

सो पुरस्कारबाट नेपाली चेली मुस्कानलाई सम्मान गरेकामा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सरकारको सराहना गर्नुभयो ।

उहाँले भन्नुभयो, “एसिड आक्रमणको पीडालाई सङ्घर्षमा बदल्दै सो पुरस्कारबाट सम्मानित भएकी हाम्री छोरी मुस्कानलाई सरकार र सम्पूर्ण जनताको तर्फबाट बधाई ज्ञापन गर्दछु ।”

तेजाब आक्रमण जस्तो जघन्य अपराध बेलैमा नियन्त्रण गर्न नसके यसले भयावह रूप लिने उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले यसविरुद्ध कानुन ल्याउन सघाएकाहरूको सराहना गर्नुभयो ।

नेपालले तेजाब आक्रमणमा कठोर सजाय र बिक्री वितरणमा समेत कडाइ गरेको जानकारी दिनुभयो ।

पीडितलाई स्वास्थ्य उपचारदेखि उनीहरूको पुनस्र्थापनाको व्यवस्था कानुनमा गरिएको जानकारी उहाँले दिनुभयो ।

नेपाल सरकार कानुनको पूर्णपालनामार्फत जघन्य अपराधको नियन्त्रणमा क्रियाशील रहेको भन्दै मुस्कानको सफलताले हौसला मिलेको सुनाउनुभयो ।

अमेरिकी विदेशसचिव एन्टोनी ब्लिकनले महिला भएकै कारण उनीहरूले कामका क्रममा र अन्य गतिविधिका क्रममा विभिन्न खालको विभेद भोग्नु नपरोस् भनेर आफ्नो पीडालाई दबाउँदै हिम्मत देखाउने महिला र किशोरीलाई यो सम्मान तथा पुरस्कार प्रदान गरिएको बताउनुभयो ।