प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरुको शपथ

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, चैत्र १७, २०७९

काठमाडौं– नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शुक्रबार अपराह्न राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त मन्त्रीले शपथ ग्रहण गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृह, डा। बेदुराम भुसाल कृषि तथा पशुपन्छी विकास, अशोककुमार राई शिक्षा, शरदसिंह भण्डारी श्रम, डा। प्रकाशरण महत अर्थ, महेन्द्रराय यादव महिला बालबालिका, शक्तिबहादुर बस्नेत ऊर्जा तथा जलस्रोत, प्रकाश ज्वाला भौतिक पूर्वाधार, रञ्जिता श्रेष्ठ भूमि सुधार, रमेश रिजाल उद्योग, सीता गुरुङ सहरी विकास मन्त्रीको रुपमा शपथ लिनुभएको छ ।

राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री एवम् मन्त्रीलाई शपथ गराउनुभएको हो। सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, संवैधानिक निकायका प्रमुख, वरिष्ठ सञ्चारकर्मीलगायतको सहभागिता थियो ।
प्रधानमन्त्री प्रचण्डले लामो समयपछि नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो । शपथ ग्रहण गर्नेमा उपप्रधानमन्त्री तथा रक्षामन्त्रीमा पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा डा। प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा रमेश रिजाल र सहरी विकासमन्त्रीका रुपमा सीता गुरुङ कांग्रेसबाट मन्त्री बन्नुभएको हो ।

शपथ ग्रहणपछि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नव नियुक्त उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का । नेकपा माओवादी केन्द्रबाट शक्तिबहादुर बस्नेतले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ। माओवादीबाट यसअघि उपप्रधान तथा यातायात मन्त्री बन्नुभएका नारायणकाजी श्रेष्ठले भने उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी पाउनु भएको छ।

नेकपा एकीकृत समाजवादीको तर्फबाट कृषि तथा पशुपन्क्षी विकासमन्त्रीमा वेदुराम भुसाल र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश जवालाले शथप लिनुभएको छ । जनता समाजवादी पार्टी नेपालका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा अशोक राईले पद तथा गोपनियताको शपथ लिनुभएको छ। लोकतान्त्रिक समाजवादी पार्टीकातर्फबाट शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्नुभएको छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको शपथ लिनुभएको छ। यसैगरी, नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको रुपमा शपथ लिनुभएको हो ।