आज गुरु पूर्णिमा

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, साउन ६, २०८१

काठमाडौं– आज असार शुक्ल पूर्णिमा अर्थात आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने तथा शिक्षा दिने गुरुजनप्रति सम्मान–भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । आज साउन ६ गते आइतवार नै पूर्णिमा व्रतसमेत परेको छ । यो व्रतमा चन्द्रमाको पूजा गरिन्छ र चन्द्रमाको पूजा सन्ध्याकालमा गरिने परम्परा छ । गुरुको आफ्नै विशेष अर्थ छ । ‘गु’ को अर्थ अन्धकार तथा ‘रु’ को अर्थ प्रकाश हो । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ ।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भवः’ भनिन्छ । गुरु पूर्णिमाको अवसरमा आज देशभरीका विद्यालय तथा अधिकांश शैक्षिक प्रतिष्ठानहरुमा विभिन्न कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने प्रचलन छ । गुरु पूर्णिमाको पर्वले विद्यार्थी तथा शिक्षकबीचको पवित्र सम्बन्धलाई सम्मान गर्दछ । संस्कृत शब्द गुरु, जुन अहिले आएर अङ्ग्रेजी शब्दकोशमा पनि समेटिएको छ, यसको अर्थ हाम्रो जीवनबाट अशिक्षा र अज्ञानताको अन्धकार हटाउने व्यक्ति हो भनी व्याख्या गरिएको छ ।

आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्व वेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । असार शुक्ल पूर्णिमाकै दिन वेदव्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो । व्यासले पुराण र उपपुराणका माध्यमबाट ‘परोपकार पुण्याय, पापाय परपीडनम्’ अर्थात् अरुको उपकार गरे धर्म हुन्छ एवम् अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिएका छन् ।

गुरु पूर्णिमाको अवसर पारेर आज वरिष्ठ अभिनेत्री मिथिला शर्माले प्रज्ञा भवनमा एउटा विशेष कार्यक्रम आयोजना गर्दै आफ्नो नृत्य तथा अभिनयका गुरुहरुलाई गुरु दक्षिणास्वरुप उनीहरुको नाममा पुरस्कार स्थापना गरी कलाकर्मीलाई प्रदान गर्दैछिन् । साथै पूर्व प्रहरी कलाकारहरुको नयाँ संस्था नेपाल पूर्व प्रहरी कलाकार संघको उद्घाटन पनि गरिँदैछ ।