अष्ट्रेलियाका तीन शहरमा नेपाल फेस्टिभलको रौनक
-- गोपाल छन्त्याल, सिड्नी । नेपाली टाईम्स अष्ट्रेलिया ?>
अष्ट्रेलियाको तीन ठुला शहरमा नेपाल फेस्टिभलको रौनक बढेको छ । एनआरएन अष्ट्रेलियाको आयोजनामा हरेक २ बर्षमा मनाईदै आएको फेस्टिभल यसबर्ष सिड्नीका अतिरिक्त मेलर्वन र ब्रिसवन शहरमा पनि मनाईदैछ । तीनै शहरमा छुट्टाछुट्टै मितिमा मनाईने फेस्टिभलको तयारीलाई तीब्र पारिएको छ । नोभेम्बर १६ मा ब्रिसवेन, २४ मा सिड्नी र डिसेम्बर १५ तारिखमा मेर्लवनमा फेस्टिभल सञ्चालन हुने एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक नन्द गुरुङले जानकारी दिए । ‘हामीले फेस्टिभललाई भव्य रुपमा सम्पन्न सम्पूर्ण किसिमका तयारीलाई तीब्र बनाएका छौँ । कार्यक्रम हुने स्थान देखि त्यसको व्यवस्थापन, कला–सँस्कृति प्रर्दशन गर्ने सम्मका तयारी गरिरहेका छौँ’, उनले भने, ‘ब्रिसवेनमा हुने कार्यक्रमका लागि भने नेपालबाट कलाकारहरु आउने क्रम सुरु भइसकेको छ ।’ उनका अनुसार, फेस्टिभलले नेपाली कला–सँस्कृतिको बजारीकरणमा टेवा पुग्नेछ । ‘सबै ठाउँमा नेपाली राजदुतावास र एनआरएनए मातहतका संयन्त्र तयारीमा जुटेका छन्’, उनले भने, ‘हामीले चौतर्फी सहयोग पाउनेछौँ ।’ दुतावासका बसन् २००६ देखि सञ्चालन हुदै आएको फेस्टिभलसम्बन्धि जानकारी दिन आयोजकले स्थानीय सञ्चारमाध्यम देखि सर्वसाधारणको हात–हातमा पर्चा पम्प्लेट पुरयाउन थालेका छ ।
कार्यक्रमका प्रचार–प्रचार संयोजक प्रतिज्ञा अधिकारीले सिड्नीको डार्लिङ हार्बरमा आयोजना हुने कार्यक्रमलाई अझ विशेष बनाउन लागिएको जानकारी दिईन् । ‘यहाँका मुलधारका सञ्चारमाध्यमहरुलाई कार्यक्रममा निम्ता दिनेछौँ । रेल स्टेशनहरु मार्फत कार्यक्रम र नेपालबारे प्रचार गरिरहेका छौँ’, उनले भनिन्, ‘हिमाल, पहाड र तराइका कलासँस्कृति झल्किने प्रस्तुतीहरु नै यसका मुख्य आकर्षण हुनेछन् ।’ कार्यक्रम हुने सबै स्थानमा कम्तिमा २० भन्दा बढी नेपाली झण्डा फहराइनेछ । ‘डार्लिङ हार्बरमा ३५ वटा झण्डा फहराउनेछौँ, ३३ वटा त हामीले तयार गरिसक्यौँ’, उनले थपिन्, ‘फेस्टिभलका लागि नेपाली परिकार, नेपालसम्बन्धि जानकारी, नेपाली गीतसंगीत र नृत्यहरु सबै तयारी भइसकेको अवस्था छ ।’ त्यसका विभिन्न ३६ वटा स्टलहरु सञ्चालन हुनेछन् । आयोजकले अष्ट्रेलियाका केन्द्रीय सरकाकार इमिग्रेसन तथा सिटिजनसिप मिनिस्टर डेविड कोल्म्यान देखि न्यू साउथ बेल्स राज्यका प्रमुख, सभामुख, विपक्षी दलका नेताहरुलाई फेस्टिभलको निम्ता दिइसकेका छन् ।