यात्रा टौदहदेखि बोसनसम्मको

-- मधुसूदन पाण्डेय ?>

हाम्रो नियमित मासिक यात्राको भदौ महिने यात्रा विविध कारणबस अलि ढिलो हुन पुग्यो । २५ गतेलाई तय गरेर पनि ३० गतेका लागि सार्नु पर्यो । पाँचपोखरीको लामो यात्राले हामीसबैलाई तर्साइ सकेको थियो । त्यसैले अबका दिनमा लामा यात्रा नगर्ने सहमति त्यतिबेलै भइसकेको थियो । २०७४ सालमा शंकर मजगैंया जी र म चम्पादेवी हाईकिंगमा गएका बेला चम्पादेबीबाट पूर्वतिर निकै लोभलाग्दो डाँडो देखेका थियौं । त्यतिबेला हामीसंग त्यो डाँडोमा पुग्ने समय नबचेकाले कुनैबेला जाउँला भन्दै लोभिएर फर्केका थियौं । गत भदौ १३ गते बि एन पव्लिकेसन्सका एम डि सुर्य बि सी ले मेरो प्रकाशोन्मुख कृति शेक्सपियर समग्र (अनुदित )को फिनिसिंगका लागि टौदहलाई छनौट गरेछन् र त्यहाँको पलेटी रेसोर्ट बुक गरेछन् । त्यहाँ हाम्रो दुइदिने बसाइमा त्यहि बोसन डाँडोले २०७४ सालको स्मृतिलाई ताजा बनाइदियो । फेरी लोभ्यायो । त्यतिबेला चम्पादेबीबाट पूर्वतिर देखिने बोसन डाँडो टौदहबाट पश्चिमतर्फ देखिंदो रहेछ । बोसन डाँडोको विशेषता भनेको बोट बिरूवा रहित, हरियो घाँसले ढाकेको सुलुत्त परेको पाटन जस्तो देखिने डाँडो हो । त्यसको टुप्पामा दुईवटा रेसोर्ट छन् जहाँ खाने बस्ने राम्रो सुबिधा छ । त्यहाँ जाँदा खानेकुरा केहिपनि बोक्नु पर्दैन । गाडिबाट ओर्लेर डेढ घण्टामा सजिलैसंग पुग्न सकिन्छ । मोटरसाइकल अथवा गाडीबाटै जान चाहानेहरूका लागि थुम्कोसम्मनै गाडीबाट पुग्न सकिन्छ । डाँडोमा पुगेर काठमाडौं उपत्यकाको अवलोकन गर्न पाउँदा मनै लोभिन्छ ।
यो यात्रामा हाम्रो नियमित यात्राका साथीहरू बाहेक अन्य केहि साथीहरूले पहिल्यैदेखि हामीलाई नछोडनु होलाहै दाजु भनेकाले मैंले उनिहरूलाई पनि खबर गरें । उनीहरू सबैजना जान तयार भएपछि हाम्रो परिवार संख्या बढ्यो । नेत्रलाल पाण्डे, तेजनारायण गौतम, म, कबि बैरागी जेठा, कबि सन्तोष सिंखडा र कबि सुनिल पुरी गरी छ जना भयौं । हामी चाबेलबाट चक्रपथको बस चढेर बालाजुहुँदै जाने र त्यहि बसमा सबै आ–आफ्नो प्वाइन्टबाट चढदै जाने तय भएको थियो । बैरागी जेठा निर्धारित समयमा माछापोखरी पुग्न नसक्दा शुरूमैं छुटी हाले । सन्तोष स्वयम्भुबाट चढे । हामी बल्खु पुग्दा सुनिल हामीलाई पर्खि बसेका थिए । बल्खुमा सबैजना भेलाभए पछि एक एक कप चिया पियौं । त्यत्तिकैमा हेटौडा जाने बस आईपुग्यो । लामो रूटको त्यो बसले बीचका प्यासेन्जर लाँदैन होला भनेको त लैजांदो रहेछ । त्यसैमा चढ्यौं र टौदह ओर्लियौं ।


टौदहको पलेंटी रिसोर्टलाई पहिल्यै खाना अर्डर गरिसकेका थियौं । हामी गएको केहिबेरमैं खाना तयार भयो । सोह्रश्राद्ध लागेकाले सबैले भेज खाना खायौं र सवा एघार बजे बोसनको उकालोतिर लम्कियौं । टौदहका स्थानीयहरू कोहि भन्दै थिए एकघण्टा लाग्छ । कोहि भन्दै थिए पैंतालिस मिनेट लाग्छ । कोहि भन्दै थिए हैन आधा घण्टा भन्दा बढी लाग्दैन । हामीले दुईघण्टाको टार्गेट बनाएर हिंड्यौं । आरामले फोटोखिच्दै, दृष्यावलोकन गर्दै जाँदा पनि हामीहरू डेढ घण्टामा पुग्यौं । त्यसहिसाबले त स्थानीयहरूको भनाई नै सत्य ठहरियो । उमेर अनुसारका मानिसले आ–आफ्नै उमेर अनुसार बताएका रहेछन । हामीपनि हाम्रो उमेर अनुसार पुग्यौं ।

डाँडोमा पुगेपछि त यस्तो लाग्यो कि ओर्लिदै नओर्लिउँ । कम्तिमा एकरात बसौं तर बस्नेगरी हामी गएका थिएनौं । फर्किनु हाम्रो बाध्यता थियो । अलि बिलम्ब गर्दा फर्किन ढिलो हुने भएकाले हामीले डाँडोमा दुई घण्टा बितायौं । कफि पियौं । नास्ता खायौं । कबि गोष्टीको झझल्को दिनेगरी कबिता, हाइकु गजल वाचन गर्यौं । धित मेटाएर फोटो खिच्यौं र तीन बजे फर्कियौं । कबि गोष्टीका सिलसिलामा मैंले हाइकु लेखें भने सुनिल र सन्तोषले कबिता बाचन गरे । मेरो हाइकु यस्तो थियो ।
बोसन डाँडो
छ जना यात्री हामी
उकालो चढ्दै

सुरम्य स्थान
आइरहुँ झैं लाग्ने
जानीराखौं है
यो मैले कोरेको हाइकु थियो भने कबि बैरागी जेठाले ‘आज म जिउँदो लास भएछु’ शीर्षकको कबिता कोर्न बाँकी कबिता सुनाए ।
कबि सन्तोषले ‘यतिबेला हतारमा छ गाउँ’ शीर्षकको कबिता सुनाए भने कबि सुनिलले ‘दृष्टिमा दृष्यहरू’ शीर्षकको कबिता सुनाए । म रेकर्ड गर्दै गएँ । तेजनारायण गौतम र नेत्रलाल पाण्डे श्रोता बने । कबि गोष्ठी सकिए पछि हामी ओरालो लाग्यौं ।
जाँदा आरामले डेढ घण्टामा गएका हामी फर्किंदा आरामले पचास मिनेटमा फर्कियौं र आधाघण्टा जति टौदह घुमघाम गरेर बस चढ्यौं । सुनिल, बैरागी र सन्तोष बल्खुमै ओर्ले भने म, नेत्र र गौतम जी रत्नपार्क आएर बौद्धको बस चढेर घर फर्कियौं ।