मनकामना हाइकिंग

-- मधुसूदन पाण्डेय ?>

यो २०४५ सालको यात्रा थियो । दिन र महिना याद भएन । सुन्तला पाकेको समय भने याद छ । त्यसैले कात्र्तिक अथवा मंसिरको महिना हुनुपर्छ । त्यतिखेर केवलकार बनिसकेको थिएन । काठमाडौंबाट आँबुखैरेनीसम्म गाडिबाट र त्यहाँबाट पैदल जानुको बिकल्प थिएन । केही साथीहरूले मनकामना जाने प्रस्ताव राख्नु भयो । म त्यतिवेला नेशनल ट्रेडिंग लिमिटेडमा जागिरे थिएँ । त्यसैले मनकामना जानेमापनि सबैजना नेशनल ट्रेडिंगका कर्मचारी मात्रै थियौंं । म, निलरत्न शाक्य, किशोर के सी, अनिल रेग्मी, गोपाल शर्मा लगायत छ जना भएर एकरात मनकामनामा बास बस्ने गरी गएका थियौं । त्यतिबेला आजको जस्तो फेसबुकको जमाना पनि थिएन । हात हातमा मोबाइलको जमाना पनि थिएन । तर पनि म चाँहि क्यामराको निकै सौखिन भएकोले जहाँजांदा पनि हातमा क्यामरा भने छुटदैनथ्यो । त्यतिबेला म रिलवाला याशिका एम एफ टु क्यामरा खेलाउँथें । त्यसमा ३६ वटासम्म फोटो खिच्न सकिने रिल हाल्नु पर्थ्यो । राम्रोसंग खेलाउन जानेमा ३६ को ठाँउमा ३८ वटासम्म फोटो पनि निकाल्न सकिन्थ्यो । नजानेमा २५/२६ वटा मात्रै पनि निस्किन्थ्यो । रिलवाला क्यामरा भएकाले धेरै फोटो खिच्न पनि मन लाग्दैनथ्यो । त्यसैले पुर्याई पुर्याई खिच्थ्यौं ।

काठमाडौंबाट छ बजे गाडि चढेका हामी १२ बजे आँबुखैरेनी पुगेका थियौं । एकाध घण्टा खानपिनमैं बितिहाल्यो । उकालो लाग्नेबेला १ बजेको थियो । लामो समयदेखि हिंडनेबानी टुटेका कारण हुनुपर्छ मलाई पैतीस बर्षे उमेरमैं पनि त्यो यात्रा निकै कष्टकर लागेको थियो र हामीलाई मनकामना पुग्न छ घण्टा लागेको थियो । मनकामना पुग्ने वेलाको ठाडो उकालोले सबैभन्दा अत्याएको थियो । हामी मनकामना पुग्दा सात बजेको थियो । जाँदाको दिन हामी थाकेकाले मन्दिर परिक्रमा र बाहिरी क्षेत्रको अवलोकन बाहेक केहि गरेनौं । मन्दिर दर्शन कार्यक्रम हामीले भोलिका लागि थाँति राख्यौं ।

भोलिपल्ट बिहानै हामी नुहाईवरी मन्दिर दर्शनका लागि लामवद्ध भयौं । दर्शनार्थिहरूको लाइन निकै लामो थियो । झण्डै एकघण्टा लाईनमा बसेपछि हामीले पालो पायौं । साढेसात बजेतिर हामीले दर्शन गरेर सिध्यायौं । अघिल्लोदिन झिसमिसे तिर पुगेकाले खासै केहि अवलोकनगर्न पाएका थिएनौं । त्यसैले एकघण्टाजति घुमघाम गरेर बितायौं । सुन्तलाका बारी सुन्तला पाकेर पहेंलपुर देखिन्थे । मौंसम सफा भएकाले मनकामनाको डाँडाबाट चारैतिरको दृष्य मनमोहक देखिन्थ्यो । दर्शनार्थिहरूको घुइचो बढिरहेको थियो । बलि चढि रहेको थियो । जताततै रगतले लतपत देख्दा बान्ता आउला जस्तो, रिंगटा लाग्ला जस्तो हुन थाल्यो । मन्दिरमा चढाइएका परेवाको बेहाल देख्दा मनमा अर्को पीडा थपिंदै गयो । कुपोषणका कारण परेवाहरू यत्र तत्र झरेर फटफटाइरेका देखिन्थे । धर्मका नाममा प्रांणी जगतमाथि गरिने नरमाइलो ठट्टा देख्दा मलाई त्यहाँ बस्नै मनलागेन र कोठामा फर्कें । केहिबेरमा साथीहरूपनि आउनु भयो । कतिबेला फर्किने ? खाना त्यहिं खाने की, आंबुखैरेनीमा खानेकी, मुग्लिनमा खानेकी भनेर सरसल्लाहा गर्यौं । सबै त्यहिं खाने भन्नेमा सहमत भयौं र खाना खाइवरी दश बजे हामी मनकामनाबाट आँबुखैरेनीका लागि प्रस्थान गर्यौं ।

गोरखातिर :
जाँदा छ घण्टा समय लगाएर गएका हामी झर्दा तीन घण्टामैं आँबुखैरेनी पुग्यौं । एकछिन चिया पिउँदै गर्दा साथीहरूले यत्रोबाटो आइहाल्यौं । बारंबार आइरहन सकिंदैन । कि गोरखातिर लाग्ने हो त ? भनेर प्रस्ताब गर्नु भयो । सबैजना गोरखा नगएका परेछौं । एकमतले त्यो प्रस्ताव स्वीकृत भयो र काठमांडौ तिर लाग्नुपर्नेमा गोरखाको बसको प्रतिक्षामा बस्यौं । दुईबजेतिर हामीले गोरखाको बस पायौं । सिटपनि भेटायौं अनि आरामले गोरखा पुग्यौं । त्यो दिन खासै घुमघाम भएन । सामान्य दृष्यावलोकन मात्र गरियो । घुमघामको कामलाई भोलिका लागि थाँती राख्यौं । हामीबसेको होटलको आँगनमा त्यत्तिकैमा एउटा लोकल कुखुराको भाले कुखुरी काँ गर्दै बास्यो । अनिलले होटलको साहुसंग त्यो भाले खाने प्रस्ताव राखिहाले । साहुले पनि “हजुरहरूकै सेवा र सत्कारका लागि हो । भै हाल्छ नी” भनेपछि मोलतोल गरी काटन लगायौं । त्यसकालागि चाहिने झोलवस्तु काठमाडौंबाटै साथमा लगेका थियौ । एकैछिन अघि हाम्रै अगाडि बास्दै गरेको त्यो घडिचरो एकघण्टापछि होटलको चुलोमा पाकेर हाम्रा अगाडि आइपुग्यो । छ जनाको माँझमा त्यसलाई थालबाट रित्तिएर पेटभित्र पुग्न एकघण्टा पनि लागेन ।
भोलि बिहानै हामी गोरखा घुमघामका लागि तयार भयौं । खास घुम्नैपर्ने ठाँउ भनेको गोरखा दरबारै त हो । १२ बजेसम्ममा हामीले घुम्नुपर्ने जति सबैठाँउ घुमिसक्यौं र होटल फर्क्यौं । होटलमा खाना तयार भइसकेको रहेछ । झटपट खाना खायौं र बसको प्रतिक्षामा बस्यौं । पन्ध्र बीस मिनेटको प्रतिक्षा पछि बस आइपुग्यो र हामी त्यसमैं चढ्यौं । हामीलाई थाहा थिएन की गोरखाबाट पोखराका लागि सिधा बससेवा छ । त्यो बस पोखराका लागि छुटेको बस रहेछ । बसमैं हामीले पोखरा जाने योजना बनायौं । सबैको सहमति भयो । आँबुखैरेनी ओर्लेर काठमाडौको बस पक्डनु पर्ने हामीले अब भने पोखरालाई गन्तब्य बनायौं ।

गन्तब्य पोखरा :
हामी पोखरा पुग्दा पाँच बजेको थियो । पृथ्वीचोकमा ओर्लियौं र त्यहिंको एक होटलमा बस्यौं । काठमांडौबाट हिंडेदेखि स्नान गर्न नपाएकाले जीउ चिलाउन थालिसकेको थियो । सबैभन्दा पहिलो प्राथामिकता हामीले स्नानलाई दियौं । स्नानादि कर्म सकिएपछि नास्ता गर्यौं । त्यत्तिकैमा रात परिहाल्यो । कतै घुम्न जाने कुरै भएन । घुमघामको काम भोलिका लागि थाँति राख्यौं ।
भोलि बिहान हामीले घुमघामलाई भन्दा पनि धर्मकर्मलाई प्राथिमकता दियौं र सिधै बिन्धवासिनी दर्शन गर्न गयौं । त्यसपछि तालबाराहि मन्दिर दर्शनगर्यौं र फेवातालमा बोटिंग गर्यौं । त्यसपछि महेन्द्र गुफा (डेबिडफल्स) गयौं । महेन्द्रगुफा पछि के आइ सिंह पुल हुँदै होटल फर्क्यौं । होटल पुग्दा एक बजेको थियो । खाना खांदै गर्दा हामीले नाइट बसबाट फर्किने योजना बनाई खानाखाएर लेकसाईड एरिया घुम्ने भयौं । चारबजेसम्म हामीले पोखरा क्षेत्र घुमघाम गरेर बितायौं । फर्किंदा बसपार्क गएर सातबजेका लागि काठमांडौ छुटने बसको टिकट लिइ होटल आयौं । ठिक सातबजे हामी तयार भैसकेका थियौं । समयमैं बस पृथ्वीचोक आइपुग्यो र हामी काठमांडौ प्रस्थान गर्यौं । यसरी मनकामना जाने र फर्किने योजना बनाएर हिंडेका हामी चौथोदिनमा मात्रै घर फर्कियौं ।