पूर्वाञ्चल भ्रमणका छ दिन

-- मधुसुदन पाण्डेय ?>

देशका सत्तरी जिल्ला घुमिसकेको स्यानबाबुले पूर्वाञ्चलमा घुम्न अब संखुवासभा र भोजपुर मात्रै बाँकी थिए । ती दुई जिल्ला घुम्ने कुरा उसले गर्न थालेको दुई वर्ष भयो । २०७६ सालमा अमेरिका जानुअघिनै ऊ आफ्नो यात्रादलका साथीहरू माझ भन्दै थियो अमेरिकाबाट फर्किनासाथ त्यतै जानुपर्छ है । उसका साथीहरू पनि सकारात्मक नै थिए । तर भैदियो के भने ऊ फर्किनु र नेपालमा कोरोना भाइरस संक्रमणका कारण लकडाउन हुनु लगभग संगसंगै भयो । जसले गर्दा २०७६ साल र लगभग २०७७ साल फागुन समेत बित्यो तर समय जुरेन । २०७७ पुसको हाइकिंगमा उसको यात्रादलका तीनजना साथीहरूसंगै पंकजप्रकाश नेपाल पनि गएका थिए । उनको अफिसले हरेक वर्षको चैत्र पन्ध्रपछि चैत्र मसान्तसम्मका लागि अनिवार्य बिदाको व्यवस्था गर्दो रहेछ र त्यो बिदाको समयलाई आन्तरिक अथवा बाह्य पर्यटनमा प्रयोग गरून भन्ने मनसायले भत्तासमेतको व्यवस्था मिलाएको रहेछ । हाइकिंगका बेला पंकजले यात्राको कुरा उठाउँदा स्यानबाबुले भन्यो –“यसपालिको यात्रा संखुवासभा र भोजपुर हुनेछ । पंकजले उक्त प्रस्तावलाई सहजै स्विकार गरे र उनीहरूको यात्रा डेस्टिनेसन तय भयो ।

चैत आयो, पंकजको विदा पनि सुरू भयो । यता तेजनारायण गौतम जी लाई दिल्ली नगइ नहुने भयो । वहाँले यो भनेर जानु भयो की म दिल्ली बसाइको समय कटौती गरेर भएपनि आउछु । मलाई नछाडनुहोला । यसैबीच स्यानबावु पनि एउटा सानो दूर्घटनामा परि उसको ब्याकबोनमा समस्या देखा पर्यो भने नेत्रलाललाई पनि घरायसी कारणले गर्दा निस्किन नसक्ने अवस्था सिर्जना भयो । यसरी झण्डैले यो यात्रा बिग्रिने अवस्थामा पुगेको थियो । ‘हिम्मतके आगे भूतभागे’ भन्ने हिन्दी उखानलाई सिरोधार्य गर्दै स्यानबाबु जान तयार भएपछि नेत्रलाल पनि जान तयार भए । यसरी यो यात्राको टिम फुट्न पाएन भने पंकजले पनि डा. डिल्लीराम अधिकारीलाई यात्रा टिममा समावेस गरे । यसरी त्यो टिमको संख्या पाँच बन्यो । अधिकारीजी जागिरे जीवनका क्रममा त्यस क्षेत्रमा घुमिसकेका हुनाले उनी नै टिमलिडर बनेर चैत २० गते पाँचजनाको टोली काठमांडौबाट प्रस्थान गर्यो ।

पंकज जी चैत २० गते बिहान ठिक ६.४५ मा सिर्जनाकुटीमा आफ्नो फोर्ड कार लिएर आइपुगे । स्यानबाबु र तेजनारायण गौतम त्यहिंबाट गाडि चढे । नेत्रलाल पाण्डे ७ बजे आफ्नो निवास तीनचुलेबाट गाडी चढे । सवा सात बजे अधिकारी निवास भिमसेनगोला पुगेर पंकजको फोर्ड गाडी त्यहिं राखि अधिकारीको सुजुकी बलानो गाडी लिएर उनीहरू सप्ताह ब्यापी यात्रामा निस्क्यौं । त्यहाँबाट निस्केका हामीहरू कहिंपनि नरोकी भकुण्डेबेसी पुगेर चिया नास्ता गर्यौं । चिया नास्ता सकेर गाडिमा बसेपछि स्यानबाबुले यात्रा बिवरण टिपोट गर्न थाल्यो । यसरी फटाफट टिपोट गर्न उसलाई हाइकु अथवा कबितामैं सजिलो लाग्दो रहेछ । त्यसैले उसले कबितामैं टिपोट गर्दै गयो । फर्किदाको दिनमा उसले गाडिमैं सबै टिपोट गरेर सिध्यायो र बाटोमैं सबैलाई सुनायो जो यस्तो छ ः

गौतम, पाण्डे, अधिकारी, नेपाल
घुम्न लाई निस्केका
पूर्वका जिल्ला, गुरांसको खानी
टिएमजे गएका

मारूती गाडी, बत्ताउंदै कुद्थ्यो
रोशीको किनार
डिल्लीराम चालक, उनैको मोटर
हावामा सरर

भकुण्डे बेसी, अधिकारी होटल
चिया नास्ता खाएथ्यौं
बिहानी खाना, एसएमएस होटल
चियाबारी पुगेथ्यौं

सबैले भन्थे, यहिंबाटै जानुस
चतरा निस्किन्छ
लागेन बिश्वास, बर्दिवास निस्क्यौं
नबुझी को जान्छ

कञ्चनपुर हुँदै, उदयपुर लाग्यौं
फत्तेपुर निस्केथ्यौ
जंगली बाटो, निकैनै राम्रो
चतरा पुगेथ्यौं

धरान बास, नवराजको गास
होटलमा सुतेथ्यौं
बिहानै उठि, क्यैपनि नखाई
अगाडि बढेथ्यौ

बोलेरो गाडी, भाडाको मोटर
सुदन राई ड्राइबर थे
त्यै रूटमा हिंडने, अनुभवी चालक
सबै नै ढुक्कथ्यौं

नमस्ते छाँगो, भेंडेटारको नास्ता
भ्युटावर पुगेथ्यौं
हिलेको तोंग्वा, सिंधुवाको ढिंडो
प्रकाशको होटेलको

प्रकाश श्रेष्ठ, छ बिसको वजन
निकैनै रमाइला
ढिंडोको स्वाद, कति गरौं बयान
शब्दको कमी भो

संखुवासभा, ताप्लेजुंग होटल
गुफापोखरी पुगेथ्यौं
निकैनै चिसो, एकरात हामी
त्यहिं नै बसेथ्यौ

चैतको जाडो, जिउ काम्यो लुगलुग
ज्याकेटै थिएन
लगेको गम्छा, घाँटिमा बेरी
पोखरी दर्शन

द्यौरालीबाट दायां हुंदै हामी
गुफापोखरी पुगेथ्यौं
द्यौरालीबाटै बांया हुंदै हामी
चैन्पुर गएथ्यौं

चाँंप रूखको सालिक, क्या राम्रो रैछ
त्यो मुंढे बजारमा
यलम्वर ठिंग, उभिएका रैछन
चन्द्रमानको कलामा

चन्द्रमान् लिंखा, मूर्तिकार राम्रा
भेटचांहि भएन
फोन चांहि गर्यौं, होलाभेट फेरी
जुरेमा कुनैदिन

पिलुवा खोला, नगरकर तिर्यौं
उकालो उक्लियौं
संखुवासभा चैनपुर भोजन
खांद्बारी बास बस्सौ

लेगुवा घाट, तुम्लिंगटार जान्छ
उकालो चढेर
फेरीमा चढि सतिघाटको बाटो
दिंगला पो पुगिन्छ ।

सरर दौड्यो, दिंगला जाने मोटर
षडानन्द भेट्नलाई
सुसाईराथ्यो, अरूण खोला
बगरमैं बसेर

नेपालकै दोस्रो पुरानो स्कुल
दिंगलामा रहेछ
षडानन्द बाजे, गुरूकुल शिक्षा
सबैलाई थाहै छ

षडानन्द मा बि डांडामा रैछ
त्यां पनि पुगेथ्यौं
आफूले लेख्या केहि कृति उपहार
दिएर फर्कियौं

हेडमास्टर रैछन तिम्सिना गोपाल
टुप्लुक्क भेट भयो
खिचाइ तस्विर, दिएर उपहार
बिदाभइ हिंडियो

योगमायाहरू जलसमाधि लिए
अरूण नदीमा
त्यो पनि हेर्यौं, घुमफिरका क्रममा
सतहत्तर चैतमा

अरूण भ्याली, के भन्नु भ्याली
बगरै जस्तो छ
पालिका अरूण, पाँच वडा मिलाई
त्यो भ्याली बन्या छ

चरम्वी, प्याउली, यामपांग र सिक्रे
जरायोटार मिलाई
अरूण भ्याली बनेको रैछ
पर्यटक तान्न लाई

छ सानो बजार, भोजपुर टक्सार
चिटिक्क परेको
बजारको बीचमा, करूवा राखी
सालिक बनाको

भिरालो रैछ, भोजपुर बजार
खुकुरीले चिनाको
टक्सारका सबै भोजपुर सरी
गुल्जार बनाको

होटल बलका असभ्य मालिक
पाहुना हेप्दा छन्
भेनसका मालिक, निकैनै सभ्य
पाहुना रिझाउँछन

भोजपुरदेखि, रक गार्डेनसम्म
हाइकिङ्ग हिंडियो
मोवाइल हेर्दा एघार कि मि
आश्चर्य परियो

लेगुवा घाट आएर एकछिन
तस्विर खिचेथ्यौं
सुन्दर पुलमा बसेर एकछिन
अरूणलाई हेरेथ्यौं

फर्कीदा हामी, पाख्रीबास पस्यौं
कृषिकेन्द्र हेर्नलाई
घण्टेमा खाना खाउं भनी झर्यौं
ढिंडोनै पाएनौं

कान्जीरोवा होटल, फूर्तिनै धेरै
खाना चाँई त्यस्तै हो
चारसयको बियर पाँचसयमा बेच्ने
पाहुना ठग्दो हो

चैतको बीसमा निस्केका हामी
पच्चीसमा फर्केथ्यौं
छ दिने यात्रा, पूर्वको घुमफिर
रमाई आएथ्यौ

तिनजुरे मिल्के जलजले पुग्यौ
गुरांसै नफुल्दै
नमिठो लाग्यो टिएमजे पुग्दा
सपना अधुरै

बोलेरो गाडी, धरानसम्म साथी
सुजुकी छंदैथ्यो
फर्किदा पंकज, ड्राइभिंग सिटमा
खुसिनै लागेथ्यो

चतरा गाइघाट भिमादको बाटो
हिंडेका थिएनौं
त्यो पनि जुर्यो, यात्राका क्रममा
भिमांद् निस्केथ्यौं

आइपुग्दा घरमा सात बज्या थियो
जाम साममा परेनौं
यात्रामा कुनै, ब्यवधान बिना
सकुसल फर्कियौं

यसरी काठमाडौंबाट हिडेदेखि फर्किदाको छ दिनसम्मको डायरी उसले गाडिमैं कोर्यो । गाडिमैं सबैलाई सुनायो । कहिं कतै केहि छुटाएन । काठमाडौंबाट लगेको सुजुकी बलेनो गाडीले पहाडी बाटोमा समस्या पर्लाकी भनी घरानदेखि धरानसम्म पाँच दिनका लागि भाडामा लगेको बोलेरो स्कार्पियो गाडिदेखि लिएर चालक सुदन राईको नामसम्म कबितामा समावेस गरेर स्यानबाबुले चालकको समेत मन जित्यो । यात्रा दलका साथीहरू समेतलाई खुसीले फुरूङ्ग बनाउँदै यात्रा बृतान्तलाई पूर्णता प्रदान गर्यो । त्यो स्यानबाबु अरूकोहि नभई यसै स्तम्भको स्तम्भकार थियो ।