नयाँ परिवेशमा एनआरएनए अभियान र यसको प्राथमकिता !

-- महेन्द्र कुमार लम्साल ?>

आगामी अक्टोबर-नोभेम्बरमा हुन गैरहेको एनआरएनए विश्व सम्मेलनको पूर्वसन्ध्यामा संसारभरी रहेका राष्ट्रिय समन्वय समितिहरुको निर्वाचन हुदै छ । हिजो २९ जुलाई तारिख एनआरएनए अष्ट्रेलियाको नयाँ कार्यसमिति २०२३–२५ को लागि निर्वाचन सम्पन्न भएको छ । तीन वटा समुह बनाएर होमिएको एनआरएनए अष्ट्रेलिया निर्वाचन अभियानले अनिल पोख्रेललाई अत्यधिक मतले अध्यक्षमा निर्वाचित गरेको छ । कुल १४५६२ पंजीकृत सदस्य मध्ये १२६१७ ले मतदान गरेका छन् । करिब ८७ प्रतिशत पंजीकृत सदस्यले मतदान गरेको हिजोको निर्वाचनमा  आइसीसी सदस्य लगाएत अन्य निर्वाचित पदधिकारीहरुमा अनिल टिमले उल्लेख्य जित हासिल गरेको छ । जून महिनाको अन्तिमसम्म पंजीकृत सदस्यता खुल्ला गरि २९ जुलाईमा सम्पन गरिएको निर्वाचन तुलनात्मक रुपमा निर्वाचन प्रचार प्रसारको लागि छोटो समय दिईएको थियो ।

निर्वाचन प्रयोजनका लागि पहिलो पटक एनआरएनए आइसिसिले तोकेको मापदण्ड अनुसार पंजीकृत सदस्यता आह्वान गरिएको थियो । जस अनुसार सदस्य बन्नका लागि आफ्नो मोबाइलमा “स्मार्ट एनआरएनए” एप्स डाउनलोड गर्ने, फोटो प्रमाणीकरण गर्ने र आफ्नो सदस्यता शुल्क आफैले तिर्नु पर्ने व्यवस्था गरेको थियो । यो प्राबधानले गर्दा यसपटक ग्रुपमा सदस्यता बनाउने, सदस्यता शुल्क उम्मेदवारले तिरिदिने र मत हाल्दा पनि सिस्टमको दुरुपयोग गरि अनाधिकृत मतदान गर्ने जस्तो बिकृति पूर्णत बन्द भएको थियो ।

सिस्टमको छिद्र प्रयोग गरि एउटै कार्डबाट धेरै जनाको सदस्यता शुल्क तिरेको गुनासो नआएको भने होइन । प्रमुख निर्वाचन आयुक्त टोनु घोथानेले एउटै कार्डबाट ३ जना भन्दा धेरैको भुक्तानी गरेको खण्डमा बाँकि सबै सदस्यतालाई खारेज गरिदिए पछि सयौं सदस्यहरु मतदानको लागि अयोग्य भएका थिए । प्रमूख निर्वाचन आयुक्त घोथानेको यो दृढ इच्छाशक्तिका कारण  अब भविष्यमा एनआरएनए सदास्यता र निर्वाचन  प्रक्रिया अरु चुस्त, दुरुस्त र स्वच्छ हुने अपेक्षा गरिएको छ ।

चुनावताका एनआरएनएलाई लगाइने दलीय राजनीतिको आरोप यसपटकको अभियानले केहि मत्थर बनाएको छ ।  नेतृत्व तहमा दावेदारी गर्ने अनिल पोख्रेल, डीलाराम खरेल र देव गुरुङ तीनै जना खासै पार्टीले डामेर पठाएका थिएनन् । भलै उनीहरुको आस्था, झुकाव र उनीहरुलाई ब्याकिंग गर्ने समूह कुनै राजनैतिक दल समर्थित भने थिए । तीनै जना लामो समय एनआरएनएमा आफ्नो निरन्तर सहभागिता र योगदानका आधरमा नेतृत्वको दावी गरिरहेका थिए । समयको परिवर्तनसंगै राजनैतिक दलबाट दीक्षित अभियन्ताहरुको राप–ताप कम हुँदै जाने र नया पुस्ताबाट फेयर तरिकाबाट एनआरएनए नेतृत्व चयन हुँदै जाने क्रमको संकेत यो निर्वाचन र यसमा प्रयोग गरिएको  नयाँ सिस्टमले समग्र एनआरएनप्रेमीहरुमा आशा जगाएको छ ।

समयको प्रवाह संगै एकातिर एनआरएनए अभियान बिगतमा भन्दा प्रबिधि मैत्री र परिष्कृत हुंदै गएको छ भने अर्कोतिर नेपाल सरकारले लामो समयदेखि माग गर्दै आएको एनआरएनए नागरिकतालाई संबैधानिक रुपमै अनुमोदन गरेको छ । नयाँ नेतृत्वले   परिवर्तित सन्दर्भमा अबको एनआरएनए अभियानलाई  अलि फरक र फराकिलो ढंगबाट हाँक्नु पर्ने देखिन्छ ।

एनआरएन नागरिकता र लगानीमा सहजता

नेपाल सरकारले साविकको एनआरएन कार्डलाई अरु संस्थागत गराउन एनआरएन नागरिकताको लागि संबिधानमै व्यवस्था गरिसकेको छ । केहि समयमै एनआरएन नागरिकता वितरण हुने जानकारी दिइएको छ । कतिपय एनआरएनए अभियन्ताहरु बंसजको नागरिकता खोसेर दिएको ‘एनआरएन नागरिकता’ ले आफ्नो माग पूरा नभएको बताएका छन् । तर एनआरएनए अभियानको ठूलो हिस्साले यो उपलब्धिलाई स्वीकारेको छ र नेपाल सरकारप्रति आभार प्रकट गरिसकेको छ ।

नेपालको कानून अनुसार विदेशको नागरिकता लिईसकेपछि पूर्ण अधिकार सहित बंसजको आधारमै नागरिकताको निरन्तरता खोज्नु अहिलेको स्थितिमा त्यति सहज हुँदैन । तर प्राप्त अधिकारलाई सदुपयोग गरि एनआरएनए च्यानलबाट मातृभूमिमा परिणाम आउने गरि सहयोग गर्दै जान सकियो भने हाम्रो नागरिकताको निरन्तरता असम्भव छैन । थप अधिकार माग गर्दै गर्दा हामीले मातृभूमिप्रति अबको हाम्रो कर्तब्य के हो भन्ने भुल्नु हुँदैन । संगठित रुपमा नेपालमा सामुहिक लगानी भित्र्याउनकालागि व्यापक रोजगारी सिर्जना अभियान चलाउन ढिला गर्नु हुँदैन। हामीले मातृभूमि प्रति सक्दो योगदान दिने बेला आएको छ र बातावरण पनि बन्दै गएको छ ।

सामुहिक लगानी अबको अभियान

नेपालमा यतिखेर राजनैतिक स्थायीत्व छ तर आर्थिक रुपले चरम कठिनाई भोगिरहेको छ । लाखौं दक्ष र अर्ध–दक्ष युवाहरु स्वदेशमै अवसरको अभावले बिदेसिन बाध्य छन् । बढ्दो बैदेशिक रोजगारीले नेपालका उर्बर गाउँघर बाटो, पानी, बिजुली, संचार हुँदाहुँदै पनि उजाड छन् । बैदेशिक रोजगारीमा बढ्दो विदेश पलायनले सामाजिक, पारिवारिक संरचनामा पनि नराम्रो असर परेको छ ।  एनआरएनएको पहलमा हुने सामुहिक लगानी, ज्ञान सिपको आदान प्रदानले स्वदेश मै व्यापार–व्यवसाय र रोजगारी सिर्जना गर्न सकियो भने ती सुन्दर गाउँघरलाई हराभरा बनाउन ढिला भएको छैन । एनआरएनहरुले बिकसित मुलुकमा अध्ययन, रोजगारी तथा व्यवसाय गरि आर्जन गरेको ज्ञान, सिप र धन नेपालमा लगानी गर्न सरकारले सहजीकरण गर्नै पर्छ । एनआरएनए सम्बन्धि मामिला हेर्नका लागि एनआरएन मन्त्रालय, लगानीमा एकद्वार प्रणाली, लगानीकर्तालाई आकर्षण गर्ने सरकारी नीतिका लागि काठमाडौँस्थित सचिवालयले सशक्त लबी गर्नु पर्दछ ।

नेपालमा गरिने लगानी चन्दा होइन, यो व्यवसाय हो  अवस्यपनि मुनाफा हुन्छ नै । यो यस्तो खालको लगानी हो जसले हामीलाई आर्थिक फाइदा मात्र होइन सामाजिक, मनोबैज्ञानिक र भावनात्मक रुपमा पनि खुसी र सन्तुष्टि प्रदान गर्दछ । आउँदो ५ वर्ष भित्र संसार भरिका एनआरएनहरुलाई काठमाडौं स्थित सचिवालयको संयोजकत्वमा नेपालमा व्यापक लगानीको लागि तयार पार्नु पर्छ । करिब ८० देशका लाखौँ एनआरएनहरुलाई सयुंक्त लगानी अभियानमा जोडेर नेपाली यूवा हरुलाई स्वदेशमै  रोजगारी निर्माण गर्न सकियो भने मात्र एनआरएनहरुले मातृभूमिको ऋण तिरेको मानिनेछ ।

आगामी पुस्ताकालागि हामि के गर्दै छौं ?

अध्ययनका लागि नेपालीहरु अष्ट्रेलिया झर्ने क्रम ९० को दशकदेखि सुरु भएको हो । करिब ३० वर्षदेखि आजसम्म आइपुग्दा लाखौँको संख्या पुगिसकेको छ । एउटा सफल र सभ्य बहुसांस्कृतिक सामाजिक, राजनैतिक संरचना भएकोले अष्ट्रेलियामा नेपालीहरुको संख्या दिनानुदिन बढ्दो छ ।

आर्थिक बिकासकालागि दक्ष जनशक्तिलाई ढोका खोल्ने सरकारीनीति अनुसार आज लाखौं नेपालीहरु यहाँको स्थाई बसोवास र हजारौं नेपालीहरुले नागरिकता प्राप्त गरिसकेका छन् । आफ्नो योग्यता र क्षमताका आधारमा रोजगारी, व्यापार–व्यवसाय संचालन गरि वृत्ति–बिकास गर्ने समान अवसर भएकोले पनि अष्ट्रेलियन नागरिकता लिने नेपालीहरुको संख्या घट्ने होइन बढ्ने नै हो ।

हामी पहिलो पुस्ता त नेपालबाट आफ्नो धर्म, संस्कृति मूल्य मान्यता र सभ्यता लिएर आएका छौँ ।  तर यी सबै कुराहरु पुस्तान्तरण गर्न हामीलाई हम्मे–हम्मे पर्ने छ । विविध कारणले यहाँको समाज उदार र खुला छ । जीवनस्तर माथि छ र उनीहरु हामी भन्दा फरक परिवेशमा हुर्केका छन् । अब हामीले यहाँ जन्मेका बाल–बच्चाहरुलाई हाम्रो भाषा, संस्कृति, सभ्यता, मूल्य र मान्यतामा शिक्षित र दीक्षित बनाउन आवस्यक पूर्वाधारहरु निर्माण गर्न चुक्यौँ भने पुस्तान्तरण संगै बहुसांस्कृतिक अष्ट्रेलियामा हाम्रो मौलिक पहिचान समाप्त हुनेछ ।

अष्ट्रेलियामा नेपाली समुदाय अरु समुदायको तुलनामा नयाँ हो । तर हाम्रो समुदाय तुलनात्मक रुपमा सशक्त छ । किनकि अधिकांस नेपालीहरु शिक्षित र आफ्नो दक्षताका आधारमा स्थाई बसोवास गर्ने अवसर पाएका हुन् । हामीले अरु समुदायले आफ्नो पहिचान राख्न गरेका राम्रा कामहरुबाट सिक्नु पर्छ ।

भारतीय, चिनिया, मध्यपूर्वी लगायत अन्य थुप्रै आप्रवासीहरुले आफ्ना समुदायका सदस्यहरुलाई एक सुत्रमा बाँध्न बिद्यालय, शिक्षालय, सामुदायिक केन्द्र, क्लब, प्रतिष्ठान जस्ता पूर्वाधारहरु निर्माण गरिसकेका छन् ।  ती पूर्वाधारहरु पनि उनीहरुको अग्रज पुस्ताले निर्माण गरि आफ्नो लिगेसी नयाँ पुस्तालाई छाडेर गएका थिए ।

अब हामीले पनि त्यस्ता सामुदायिक महत्वका पूर्वाधार निर्माण गर्न जुट्ने बेला आएको छ । केहि राज्यहरुमा सामुदायिक केन्द्रका लागि पहल सुरु भैसकेको छ । यस्तो केन्द्र भौतिक मात्र हुनेछैन, यो त हाम्रो भाषा, संस्कृति, आस्था, बिश्वास, आपसी सद्भाव केन्द्र हुनेछ जसले हामी र हाम्रा पुस्ताहरुलाई भावनात्मक रुपमा जोड्न मद्दत गर्नेछ ।  अष्ट्रेलियाका आठै राज्य र टेरिटोरीहरुमा कम्तिमा एउटा बृहत नेपाली सामुदायिक केन्द्र निर्माण गर्न एनआरएनएले नै अग्रसरता देखाउनु पर्दछ ।

हालसम्म एनआरएनए स्थानीय तहमै सिमित रहेर धेरै काम गरेको देखिन्छ । स्थानीय तहमा गरिने कामहरुमा सामुदायिक संघ-संस्थाहरुसंग साझेदारी गर्ने हो र सहयोग गर्ने हो । एनआरएनएले दिर्घकालिन महत्वका कामहरुको थालनी गर्न आवस्यक छ । त्यस्यका लागि नीति निर्माण र योजना तर्जुमामा ध्यान दिदै बृहत र साझा एनआरएनए निर्माणमा लाग्नु पर्दछ ।  नीतिगत तहमा सहयोग लिनका लागि बिधानमै व्यवस्था गरि “एनआरएनए थिंक-ट्यांक” समूह गठन गर्न निर्वाचित अध्यक्षलाई अधिकार दिंदा राम्रो हुन्छ।

अन्त्यमा

जन्मभूमि र कर्मभूमिबीचको सेतु बन्न, यो कर्मभूमिमा हुर्कदै गएको पहिलो पुस्ता र आगामी पुस्ताहरुलाई जोड्ने एउटा महाअभियानको सारथि बन्न, एनआरएनए अभियान र यसको नेतृत्वलाई अवसर र चुनौती दुवै छ । एनआरएनएमा संस्थागत संरचना छँदै छ तर यसलाई समयसापेक्ष प्रभावकारी, सशक्त र परिणाममुखी बनाउन हामी अझै पछि परेका छौँ । एनआरएनएलाई संसारमा छरिएर बसेका नेपाली हरुलाई जोड्ने एउटा राष्ट्रसंघिय मोडेलमा संस्थागत विकास गर्नुपर्ने आजको आवस्यकता हो । समुदायकालागि बृहत र दीर्घकालिन महत्वका कामहरु गर्न हामी सबै जुट्नु जरुरि छ । चुनाबको सिलसिलामा हार-जितबाट माथि उठेर सबै जुट्नुको बिकल्प छैन । व्यापक सहभागिताबाट मात्र अबको एनआरएनए सबल र परिणाममुखी बन्न सक्छ । सामुदायिक हकहित र मातृभूमिलाई सहयोग गर्न सबैलाई एकजुट बनाएर लैजान एउटा कुशल नेतृत्वको ठुलो भूमिका हुन्छ ।  एनआरएनए अष्ट्रेलियाका नवनिर्वाचित अध्यक्ष अनिल पोख्रेल र सम्पूर्ण टिमलाई सफल कार्यकालको लागि शुभकामना !