टी२० विश्वकप २०२४ को उपाधि भारतलाई

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

बारबाडस– शनिवार मध्यराति सम्पन्न भारत र दक्षिण अफ्रीकाबीचको रोमाञ्चक खेलमा भारत विजयी हुँदै आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि जितेपछि भारतका समर्थकहरुमा जीतको उत्साह छाएको छ । भारतीय टीमले दुई पटक वनडे विश्वकप (१९८३, २०११) को उपाधि जितेको छ भने दुई पटक नै टी२० विश्वकप (२००७, २०२४) को उपाधि जितेको छ । यो टीमले पछिल्लो पटक विश्वकप (वनडेतर्फ) सन् २०११ मा जितेको थियो । अहिले १३ वर्षपछि कुनै विश्वकप (टी२० तर्फ) को उपाधि जितेको हो ।

फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि टी–२० विश्वकपको उपाधि जितेको हो । यसअघि भारतले २००७ मा टी–२० विश्वकपको उपाधि जितेको थियो । भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६९ मात्र रन बनाउन सक्यो । अफ्रीकाका लागि हेनरिक क्लासेनले अर्धशतक प्रहार गरेपनि जीतका लागि पर्याप्त भएन । क्लासेनले २७ बलमा ५२ रन बनाए ।

त्यस्तै, क्विन्टन डे ककले ३९ रन र ट्रिस्टन स्टब्सले ३१ रनको योगदान दिए । भारतका लागि हार्दिक पाण्ड्यले तीन विकेट लिए । तीन ओभर बलिङ गरेका उनले २० रन खर्चिए । त्यस्तै जसप्रित बुमराह र अर्शदीप सिंहले दुई÷दुई विकेट लिँदा अक्षर पटेलले एक विकेट झारे ।
त्यसअघि केन्सिङ्टन ओभल, बार्बाडस स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७६ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए । त्यस्तै, अक्षर पटेलले ४७ रन तथा शिवम दुवेले २७ रन बनाउँदा हार्दिक पाण्ड्या ५ रनमा नटआउट रहे । दक्षिण अफ्रीकाका लागि केशव महाराज र एन्रिच नोर्तेजले दुई÷दुई विकेट लिए । त्यस्तै कागिसो रवाडा र मार्को जेन्सेनले एक÷एक विकेट लिए ।